बुटवल - आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्। उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार राणाले भैरहवा बजार क्षेत्रमा आफू घुमुवा प्रहरी भएको बताउँदै विभिन्न व्यक्तिलाई पेस्तोल देखाएर १० हजार रुपैयाँ माग गर्ने गरेका थिए। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा राणाको कोठाबाट नक्कली रिभल्वर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र नेपाली नगद २ हजार ६०० रुपैयाँ बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता कृष्ण चन्दका अनुसार पक्राउ परेका राणामाथि आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

.gif)



