काठमाडौं - कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना भोलीबाट खुल्ने भएको छ । चैत ७ गतेबाट बन्द रहेको चिडियाखाना भोलिदेखि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै खुल्न लागेको हो ।

लामो समयदेखि चिडियाखाना बन्द हुँदा चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन कठिन भएको थियो । सरकारबाट छुट्टै बजेट नआउने र प्रवेश शुल्कबाट हुने आम्दानीबाट खर्च धान्नुपर्ने भएकोले आर्थिक अभाव भएको सदर चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताएका छन्।

सोही कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको पोखरेलले जानकारी दिए । 

मापदण्डअनुसार चिडियाखाना अवलोकन गर्न आउनेले अनिवार्य रुपमा मास्क लगाउने तथा भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । त्यस्तै, एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ ।

खुल्न लागको चिडियाखानाको अनलाइन टिकट आज बेलुकादेखि नै खुल्नेछ । 

ई सेवामार्फत टिकट काट्न सकिनेछ । चिडियाखाना प्रवेशका लागि १५० रुपैयाँको टिकट काट्नु पर्ने छ । विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रुपैयाँमा नै टिकट पाउने छन् । यस्तै ४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ लाग्ने छ । चिडियाखानामा झन्डै ११२ प्रजातिका १ हजारभन्दा बढी पशुपक्षी छन्।