काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार र प्रमुख राजनीतिक दलहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

निर्वाचनबारे अन्योल बढ्दै गएको बेला राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार प्रधानमन्त्री र शीर्ष नेताहरूलाई एकै ठाउँमा राखेर उनले छलफल गरेका हुन्।

शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

जेनजी आन्दोलनको बलमा बनेको सरकार गठनपछि प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच यो पहिलो औपचारिक भेट हो ।

देशको वर्तमान परिस्थिति गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै पौडेलले निकासका लागि चुनाव नै उपयुक्त माध्यम भएको धारणा राखेका थिए ।

तर छलफलका क्रममा दलका नेताहरूले भने चुनावका लागि आवश्यक वातावरण अझै नबनेको कुरा दोहोर्‍याएका थिए । यस विषयमा थप र विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी बनेको बताइएको छ ।