काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले समाजवादी पार्टीका सांसद् अपहरण भएको भन्ने विषयको यथार्थ संसद्को यही अधिवेनबाट बाहिर आउने बताएका छन् ।

शुक्रवार शुरू भएको संसद्को बजेट अधिवेशनको शुरूको दिनमा प्रतिनिधिसभा अधिवेशन आरम्भ मन्तव्य राख्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी कुनै अपराधिक कामको पक्षमा नरहेको बताएका हुन् ।

नेम्वाङ बोल्नुभन्दा अगाडि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद अपहरण कार्यको निन्दा गर्दै दोषिमाथि कारवाहीको माग गरेका थिए ।

‘सांसदको अपहरणको कुरा पनि उठ्यो, भएको के हो, यथार्थ के हो यही संसद् चल्दा चल्दै निष्कर्षमा पुग्नेछ,’ नेम्वाङले भने, ‘म दोहोर्‍याउन चाहन्छु, कुनै आपराधिक कार्यको पक्षमा छैनौं ।’नेम्वाङले कोरोनाविरुद्धको लडाईंमा सिंगो देश एकजुट रहेको र लकडाउनलाई प्रभावकारी ढंगले सदुपयोग गर्दा संक्रमण धेरै फैलिन नपाएको बताए ।