हामी अब चुनाव होस् भन्ने पक्षमै छौं: ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्बौँ रुपैयाँ राज्यको खर्च भइसकेकाले अब तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा राज्य, राजनीतिक दल र उम्मेदवारहरूले ठुलो धनराशि खर्च गरिसकेकाले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन् । 'हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। अर्बौँ रुपैयाँ खर्च भइसक्यो, उम्मेदवारको खर्च भइसक्यो, डेढ लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेर तालिम दिइसकिएको छ । ‘यस्तो अवस्थामा निर्वाचन अब हुनु नै देशका लागि उपयुक्त हुन्छ,'ओलीले भने ।' उनले पछिल्ला छ महिनासम्म आफूले निरन्तर प्रयास गर्दा कसैले चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताए ।
ओलीले थपे- '६ महिना हामीले कोशिस गर्यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुन्छ ।' निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले कुनै पनि परिस्थितिमा नअल्मलिई अगाडि बढ्ने र जित हासिल गरेरै छाड्ने दृढता उनले व्यक्त गरे । साथै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूधजस्तै उम्लिएको टिप्पणी गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस