काठमाडौं - सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेकाे छ ।

मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने गरी निर्णय भएकाे जानकारी दिएका हुन् ।

यस्तै, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय पनि अर्को सूचना नभएसम्म बन्द रहने छ । गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरु भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको हो । लामोदूरीका अन्तर जिल्ला सवारी साधन र हवाई उडान भदौ १६ गतेदेखि सूचारु हुनेछन्।