अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।
यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो।
उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अमेरिकाको इनिङ्स ध्वस्त पार्न सन्दीप लामिछानेले तीन, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो।
नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यस मैदानमा ३१० बनाएको थियो।
नेपालको एकदिवसीयमा यो दोस्रो सर्वाधिक रन हो। नेपालले ८ जनवरी २०२५ मा डुन्डीमा स्कटल्याण्डविरुद्ध ३२१ रन बनाएको थियो।
डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।
बलिङतर्फ अमेरिकाका शुभम रन्जानेले तीन तथा मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट लिए। नेपालका तीन ब्याटर रनआउट भए।
जितसँगै नेपालले २८ खेलमा ११ जित र १५ हारका साथ २४ अंक जोडेको छ। नेपाल अंकतालिकाको पाँचौं स्थानमा छ।
घरेलु सिरिजमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले ८ खेलमा ६ खेलमा जित हात पार्यो। यूएई, ओमान र नेपाल सम्मिलित सिरिजमा ४ खेलमा नेपालले तीन जित हात पार्दा अमेरिका र स्कटल्याण्डसँगको सिरिजमा पनि तीनै खेलमा जित निकाल्यो।

.gif)



फेसबुक पेज Like गर्नुहोस