काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ नाम दिएको छ। घोषणापत्रमा ‘सबल, समृद्ध र समुन्नत नेपाल–पृथ्वी पथ’ लाई अबको गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ।

घोषणापत्रमा शासकीय स्वरूपसम्बन्धी अवधारणा पनि समेटिएको छ। राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्था हुनुपर्ने उल्लेख गरेको छ। साथै ‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना’ को प्रस्तावसमेत अघि सारेको छ।

त्यसैगरी स्थानीय तहमा गैरदलीय प्रणालीको अवधारणा पनि घोषणापत्रमा राखिएको छ।

जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, सुशासनलगायतका विविध क्षेत्रलाई प्राथमिकतामा राख्दै राप्रपाले आफ्नो नीतिगत दिशा सार्वजनिक गरेको जनाएको छ।

यस्तै घोषणापत्रमा भ्रष्टाचार र अनाचार अन्त्य गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । यसअनुसार, सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई स्वार्थको द्वन्द्वसम्बन्धी कानुनअन्तर्गत कानुनी दायरामा ल्याइने, विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार गरिने र राजनैतिक हस्तक्षेपबिना संवैधानिक नियुक्तिको व्यवस्था गरिने प्रतिबद्धता छ ।