काठमाडौं - भारतले प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणलाई नेपाल–भारतबीचको बहुआयामिक साझेदारी थप सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

‘यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ,’ जयसवालले लेखेका छन्।

प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए।