काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गर्ने इच्छा व्यक्त गरेका छन् ।

मंगलबार हिउँदे सिजनमा केटु आरोहण गरी कीर्तिमान कायम गरी स्वदेश फर्किएका नेपाली आरोहीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सहज भएको अवस्थामा आफू पनि चढ्न सक्ने बताए।

हिउँदे सिजनमा हिमाल आरोहण जोखिमपूर्ण रहेको ओलीको भनाई छ । 'हिउँदे सिजनमा हिमाल आरोहण जोखिमपूर्ण छ, कठिन छ, मुस्किल छ,' प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने, 'सहज भएको भए म पनि केटु आरोहण गर्थेँ होला, अझ बढी धुमधाम हुन्थ्यो ।'

गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरी १० जनाको नेपाली टोलीले विश्व कीर्तिमान कायम गरेकाे थियो ।

जसमा निर्मल पुर्जा, मिङमा जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा थिए ।