काठमाडौं - अनसनरत डा. गोविन्द केसीपक्षको वार्ता टोलीले सरकार समझदारीबाट पछि हट्दै डा. केसीको ज्यान लिने नियत राखेको आरोप लगाएको छ ।

केसीको ज्यान जोखिममा परिरहँदा निरन्तर वार्तामा रहँदारहँदै सरकारी पक्षले बेवास्ता गरेको भन्दै केसी पक्षले यस्तो आरोप लगाएको हो ।

शनिबार बिहान विज्ञप्ति जारी गरी केसी पक्षको वार्ता टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न खोजेको र अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाएका छन् ।

‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदाधिकारीहरुसित छलफल र परामर्श गरी आवश्यक गृहकार्य गरेको थियो ।

दुवै पक्षको गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा। केसीले राखेका मागहरुका सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो ।

‘तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त सझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गर्‍यो। त्यसक्रममा अनौपचारिक पहलमार्फत डा. केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो,’ विज्ञप्तिमा भनिएको छ।

१९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसकेको डा. क्षेत्रीले जानकारी दिए ।

असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसँग माग गर्दै त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरिएको छ ।