सचिवालय बैठक बोलाउनेबारे ओली-प्रचण्ड छलफल
काठमाडौं - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
सचिवालयको बैठक बोलाउनेबारे छलफल गर्न ओलीले बोलाएपछि खुमलटार निवासमा रहेका प्रचण्ड बालुवाटार पुगेका हुन्। सोमबार आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएका प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाउने तयारीका स्वरुप दुई अध्यक्षबीच छलफल भएको एक सांसदले जानकारी दिए।
पार्टीमा छलफल नै नगरी बैशाख ८ गते सरकारले दलविभाजन गर्न मिल्ने र संबैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश ल्याएपछि अध्यक्ष प्रचण्ड लगायतका सचिवालय सदस्य ओलीप्रति थप रुष्ट भएका हुन्।
अध्यादेश फिर्ता भएपनि त्यसले पार्टीमा पारेको प्रभावबारेमा समीक्षा गर्नको लागि नेकपाको तत्काल स्थायी समितिको बैठक बोलाउनुपर्ने भन्दै २० जना सांसदले अध्यक्ष ओलीलाई लिखित माग गरेका थिए।
त्यसपछि चुलिएको नेकपाको विवादका कारण आफ्नो प्रधानमन्त्री पदसमेत गुम्नसक्ने संभावनालाई विश्लेषण गरेका ओलीले माधव नेपाल समूहलाई आफ्नो पक्षमा ल्याउने कोसिस जारी राखेका छन्।
त्यसका लागि उनले सोमबार नेपालसँग आँफैले छmलफल पनि गरेका थिए। तर, उक्त छलफलमा नेपालबाट सकारात्मक सन्देश नपाएपछि ओलीले आफ्ना पक्षका तीन नेताहरुलाई पठाई नेपालसमूहका नेताहरुसँग छलफल पनि गरेका थिए।
उक्त छलफलमा पनि मंगलबार सचिवालय बैठक डाँक्नुपर्ने र त्यसले स्थायी समितिको मिति तोक्नुपर्ने बताएपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
फेसबुक पेज Like गर्नुहोस