रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।
साथै उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको जनाइएको छ।
अघिल्लो दिन अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
राप्रपा पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रमका लागि अध्यक्ष लिङ्देनले अन्य दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै निम्तो वितरण गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस