काठमाडौं - कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमबार प्रदर्शन गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो।

बिहीबार बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले तत्काल विरोधका कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो। मंगलबारदेखि दिनहुँ बैठक बसिरहे पनि विरोधका कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा दुई धार देखिएको थियो।

बिहीबारको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारको कदमविरुद्ध सडक संघर्षमा जान ढिलाइ गरेकोमा नेतृत्वको आलोचना गरेका थिए। ‘सरकारको कदमविरुद्ध तत्काल पार्टीले विरोधका कार्यक्रम ल्याउनुपर्छ’, नेता सिंहले भने, ‘असंवैधानिक रूपमा संसद् विघटन भएकाले पार्टीले आन्दोलनमा जान ढिलाइ गर्नुहुन्न।’

सिंहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाँदै गर्दा पार्टी महाधिवेशन पनि चाँडो हुनुपर्ने माग गरे। उनले जनताले पार्टीको नेतृत्व बदल्न पनि सुझाव दिएको धारणा राख्नेबित्तिकै सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए। नेता सिंह र सभापति देउवाबीच केही बेर सवालजवाफ चलेको थियो। 

उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको अपरिहार्यतामा जोड दिएका थिए। तर, निधिले सडक संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना भने न्यून रहेको धारणा व्यक्त गरेका थिए। करिब सवा घण्टा बोलेका निधिले तीन विकल्प सुझाएका थिए। ‘कुनै पनि हालतमा संसद् चाहिन्छ। संसद् भएन भने मुलुकमा लोकतन्त्र रहन सक्दैन’, उनले भने, ‘यसका लागि सडक आन्दोलनबाट संसद्को पुनःस्थापना, दोस्रो निर्वाचनबाट संसद् र तेस्रो सर्वाेच्च अदालतको फैसला।’

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सरकारको कदमविरुद्ध उभिनुपर्ने समय आएको बताए। ‘लोकतन्त्र र संविधान रक्षाका लागि आन्दोलनमा जानुपर्छ। र, आन्दोलनलाई चुनावको तयारीको रूपमा अगाडि बढाउनुपर्छ’, केसीले भने। उनले आन्दोलनसँगै निर्वाचनको तयारीमा पनि सँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

अन्नपूर्ण पोष्ट दैनिकबाट