काठमाडौं - गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयकमार्फत कानुनी सुधारको तयारी भइरहेको बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरी सङ्गठनको सुधार, प्रहरी कर्मचारीको सेवासुविधा वृद्धि र कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरकारले पहल गरिरहेको बताए ।

प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्ने गरी आवास, स्वास्थ्यलगायतका सेवासुविधा थप गर्नुका साथै सरुवा र बढुवालाई व्यवस्थित गरिने उनको भनाइ छ। प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने कामसमेत अघि बढाइएको उनले जानकारी दिए।

गृहमन्त्री गुरुङले अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धि गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्ने सोच पनि सरकारले अघि सारेको बताए।

उनले अपराधले सीमा नचिन्ने भएकाले अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीलाई सक्षम बनाउनुपर्नेमा जोड दिए।

हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगमा सहकार्य बढाउने विषय उठाएको उनले बताए।

क्षेत्रीय सहकार्यबाट प्राप्त अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न प्रहरीलाई निर्देशन दिए।

साथै, कृत्रिम बौद्धिकता (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान, डीएनए फोरेन्सिक र डीएनए प्रोफाइलिङजस्ता आधुनिक विधामा प्रहरीको क्षमता बढाउनुपर्ने बताए।

गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने बताए।

“नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैनरु मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ,” उनले भने।