जनकपुरधाम - धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी रद्द भए पनि उनको चुनाव चिन्हमा खसेको मत गणना गर्ने सहमति भएको छ।

निर्वाचन आयोगले गत १९ गते कमलको उम्मेदवारी खारेज गरेको थियो। तर उनका समर्थकहरूले मतगणना हुनुपर्ने माग गर्दै अवरोध गरेपछि निर्वाचन कार्यालयले छलफलमार्फत मतगणनामा सहमति गरेको हो।

सहमति अनुसार घण्टी चिन्हमा खसेका मतको गणना गरिनेछ, तर ती मतहरू प्रतिस्पर्धी उम्मेदवारहरूको मतपरिणाममा भने जोडिने छैनन्।

घण्टी चिन्हमा प्रत्यक्षतर्फ खसेका मतलाई छुट्टै राखेर गणना गर्ने सहमति भएको निर्वाचन कार्यालयले जनाएको छ।