काठमाडौ - तपस्वीको भेषमा हत्या, बलात्कार र लुटपाट गरेको आरोप लागेका राम बहादुर बमजनलाई सरकारले कारबाही गर्ने भएको छ । कारबाहीकै क्रममा उनलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीको एक टोली सिन्धुलीमा रहेको उनको आश्रम पुगेको छ ।

हत्या, हिंसा, बलात्कार तथा आफ्ना सुसारेहरुलाई बेपत्ता पारेको आरोपसहितको उजुरी परेपछि प्रहरीले उनलाई पक्रन लागेको हो । शुक्रवार विहान झिसमिसेमै उनको आश्रममा पुगेर प्रहरीले छापा हानेको छ । बिहीवार मात्रै प्रहरीले सिन्धुली जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति लिएको थियो ।

एकविहानै प्रहरी छापा मार्न बमजन आश्रम पुगेको बताइएपनि अहिलेसम्म उनी पक्राउ परेको जानकारी भने आएको छैन । आश्रमभित्र उनी बस्ने मूल घरमा ताला लागेको र वरपर छापा मार्दा पनि उनी नभेटिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले जनतापाटीलाई बताए ।

सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा, सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबालाई विभिन्न स्थानका आश्रमहरुबाट बेपत्ता बनाइएको आरोपमा उनीमाथि छानविन भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नावालक गंगामाया तामाङलाई बलात्कार गरेको आरोप समेत छ । अहिले गंगामाया काठमाडौंको एउटा संस्थामा संरक्षण लिइरहेकी छन् ।