काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

शुक्रवार अपरान्ह शितल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो ।

बैठकमा संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका दोस्रो चरणमा नेताहरू सहभागी छन्।

नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरू उपस्थित छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपीनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट रेनु यादव, जनमत पार्टीबाट अध्यक्ष सीके राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जनता समाजवादी पार्टी नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली काँग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरू भने उपस्थित छैनन् ।