काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गर्न सहमत भएको बताइएको छ ।

यसअघि वैशाख २० गते बसेको पार्टी सचिवालय बैठकले २५ गते बिहीबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर आज सचिवालय बैठक पनि बसेको थियो । बैठकबारे जानकारी दिदै प्रवक्ता नरायणकाजी श्रेष्ठले बैशाख २० गतेको सचिवालयको बैठकले तय गरे अनुसारको स्थायी समितिको बैठकका लागि प्रस्ताव तयार गर्न दुई अध्यक्षबीच गृहकार्य बाँकी रहेको जानकारी बैठकमा गराइएको बताए ।

साथै दुबै अध्यक्षले आपसी सल्लाह गरेर बैठकको कार्यसूचीबारे निर्णय गर्ने बताए । सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

सचिवालय बैठक सकिएपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच छलफल शुरु भएको थियो । अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको हो । अर्को बैठक कहिले बस्ने भन्नेबारे टुंगो लागेको छैन ।