स्थानीय तह निर्वाचन परिणाम: ३२० पालिका प्रमुखमा कांग्रेसको जित
काठमाडौं - नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।
हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।
आयोगका अनुसार एमालेले हालसम्म १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालले हालसम्म २९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये २ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १५ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने २ वटामा अग्रता लिइरहेका छन् । हालसम्म २९ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस