काठमाडौं - राष्ट्रसंघले भारतको राजधानी दिल्लीमा भएको हिंसालाई अत्यन्तै दुःखद भन्दै चिन्ता प्रकट गरेको छ । दिल्ली हिंसालाई लिएर राष्ट्रसंघको महासचिवका प्रवक्ता स्टेफेन डूजारिकले प्रदर्शनका नाममा भएका घटना अत्यन्तै दुःखद भएको बताएका हुन् ।

डूजारिकले भनेका छन्, ‘दिल्लीमा उत्पन्न तनाव र मृत्युको खबरले राष्ट्रसंघका महासचिव निकै दुःखी हुनुहुन्छ । र, उहाँले स्थितिलाई लिएर संयमित हुन र कुनै पनि तरिकाको हिंसाबाट बच्न आह्वान गर्नु भएको छ ।’

यसअघि राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगले डिसेम्बर २०१९मा भारत सरकारले जुन नागरिकता संशोधन कानून ल्याएको छ, त्यो पक्षपातपूर्ण रहेको प्रतितिया दिएको थियो । उच्च आयोगका प्रवक्ता जेरेमी लरेन्सले सबै प्रभासीलाई सम्मान, सुरक्षा र समान अधिकारको हक छ, जो उनीहरुलाई मिल्नु पर्छ, भनेका छन् ।

वर्ष सन् २०१९ को डिसेम्बरमा भारतको केन्द्र सरकारले नागरिकता संशोधन कानून ल्याएसँगै दिल्लीमा यसको विरोधमा प्रर्दशन भइरहेको छ । पछिल्लो समय नागरिकता संशोधन कानूनको पक्षमा समेत आवाज उठ्न थालेपछि पक्ष र विपक्षमा रहेकाहरुबीच दंगा हुन थालेको छ ।