काठमाडौं - प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध प्रदर्शन भएको छ ।

कर्तव्य ज्यान मुद्दाको  आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै  माइतीघरमा विरोध प्रदर्शन भएको  हो ।  उक्त  प्रदर्शनमा पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा  लगाइएको छ ।

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरि हत्या गरेको  आरोप उनिमाथि लागेको छ ।

लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा तत्कालीन माओवादीका नेताहरु अग्नि सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको  भन्दै  किटानी जाहेरी दिएकी थिइन् ।