घुम्तीमा ट्याक्टर खस्दा ७ को मृत्यु
काठमाडौं - घरबाट सडक निर्माणमा मजदुरीका लागि फर्कंदै गरेका युवा चढेको ट्याक्टर शनिबार राति घुम्तीमा चालकले सडक ठम्याउन नसक्दा खसेर ७ जनाको मृत्यु भएको छ । प्यूठानको भिंगृ–स्वर्गद्वारी खण्डको रुमाले नजिक राति ११ बजे लु२त ४२३४ नम्बरको ट्याक्टर सडकदेखि करिब ३ सय मिटर तल खसेको हो ।
घटनामा रोल्पाको एउटै गाउँका ६ जना युवा परेका छन् । रोल्पाको त्रिवेणी–२ नुवागाउँका चालक कमल कुँवर र रुन्टीगढी–५ को बाइजा गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २१ वर्षका सागर बस्नेत, २४ वर्षका रिमबहादुर बस्नेत, २५ वर्षका कविराम बस्नेत, १९/१९ वर्षका वीरेन्द्र बाठामगर, थमन बाठामगर र गोवर्द्धन बुढामगर छन् ।
उनीहरू सबै स्वर्गद्वारी नगरपालिका–२ को भिंगृ–स्वर्गद्वारी सडक खण्ड निर्माणका काममा कार्यरत मजदुर हुन् । उक्त सडक कालोपत्र गर्ने ठेक्का भीम सुवेदीको ओसिस कन्स्ट्रक्सन कम्पनीले लिएको छ । घुम्ती बाटोमा कुहिरो लागेको अवस्थामा चालकले सडक पहिल्याउन नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
ट्याक्टर खसेको थाहा पाएर राति नै प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए । ‘हामी पुगेर राति नै घाइतेको उद्धारमा लाग्यौं,’ स्वर्गद्वारी–२ का वडा सदस्य विष्णु खनालले भने, ‘अप्ठ्यारो ठाउँ भएकाले मृतकको शव निकाल्न सक्ने अवस्था थिएन ।’ स्थानीय र प्रहरीले राति सबै शव माथि सडकमा ल्याउन नसकेपछि आइतबार बिहान प्रहरी र सेनाको थप टोली घटनास्थल पुगेको थियो ।
सबै मिलेर शव निकालिएको खनालले बताए । उक्त ट्र्याक्टरमा सवार रोल्पा बाइजाकै २० वर्षीय विशाल थापा भने हाम फालेर जोगिन सफल भएका छन् । सामान्य चोटपटक लागेका उनको भिंगृमा उपचार भएको छ । सबै शव घटनास्थलबाट निकालेर प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा पोस्टमार्टम गरी आइतबार नै आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले बताए ।
पीडितलाई सान्त्वना दिन छिमेकीलाई मुस्किल भएको छ । ‘काम गर्न गएका यति धेरै जना युवकहरूको एउटै घटनामा ज्यान गयो । नराम्रो घटना भयो,’ रुन्टीगढी गाउँपालिका–५ बाइजाका वडाध्यक्ष यामबहादुर दशौंदीले भने, ‘हामी स्तब्ध छौं, पूरा गाउँ शोकमा छ ।’
घटनास्थल पुगेर शव व्यवस्थापनमा सघाएका दशौंदीले मृतकका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको बताए । ‘इँटा बोक्ने, सडक बनाउने, भारी बोक्नेलगायत काम खोज्न गइरहन्थे,’ उनले भने, ‘यसपालि भिंगृदेखि स्वर्गद्वारीसम्मको सडक कालोपत्र गर्ने काममा लागेका बेला सबैको ज्यान गयो ।’
साउने संक्रान्ति मान्न केही दिन घर आएर युवकहरू पुनः काम गर्न जाँदै गरेका बेला घटना भएको हो ।
मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा स्थानीय तहमा छलफल गरिने उनले बताए । मारिने सबै विपन्न परिवारका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने ‘पीडितलाई राहत दिनुपर्ने हुन्छ । पहल हुन जरुरी छ ।’ बाइजा गाउँका सर्वसाधारण बर्सेनि मजदुरी गर्न गाउँबाट टाढा जाने गरेका छन् ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस