किताब आयातमा लगाइएको कर हट्यो
काठमाडौं - सरकारले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त शुल्क हटाउने निर्णय गरेको हो।
अघिल्लो आर्थिक वर्षको बजेटले विदेशबाट आयात हुने किताब तथा पत्रपत्रिकामा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरेको थियो। यसले करिब डेढ वर्षदेखि स्थानीय बजारमा किताब आयात प्रभावित थियो। अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छापिएका नयाँ किताब यहाँ कमै पाइन थालेका थिए।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले तयारी वस्तु र कच्चापदार्थ आयातको भन्सार दरमा फरक कायम गर्ने भन्दै विदेशमा छापिएर आउने किताबमा १० प्रतिशत भन्सार लगाएका हुन्। यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने भए पनि छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए।
नेपालका धेरै प्रकाशकले भारतका छापाखानामा पुस्तकहरू मुद्रण गरेर ल्याउने गरेका थिए। प्रेस सञ्चालकले नेपालमा कागज किनेर छाप्नुभन्दा विदेशबाटै छपाएर ल्याउनु सस्तो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस