कोरोनाको खोप उपलब्ध गराउन उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरुसँग छलफल
काठमाडौं - उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् ।
सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको प्रगतिकाबारेमा मन्त्रीहरुसँग छलफल गरेका हुन् । बैठकमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुको सहभागीता थियो ।
कोरोनासम्बन्धि पछिल्ला सरकारका निर्णयहरुको समिक्षा गर्दै बैठकले यसका नियन्त्रण सम्बन्धी भैरहेका प्रयासका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।
सरकारले नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्ध खोप लगाउने योजना बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । तर, बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको कारण नेपालमा १५ वर्षमुनिकालाई भने खोप लगाइने छैन ।
अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) र ‘साइनोभ्याक्स’(चीन)का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस