काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफु र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको बताएका छन् । शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँगको छलफलमा पार्टीभित्र ठुलो षडयन्त्र भैरहेको बताए ।

'मलाई पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भैरहेको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो ।' ओलीको भनाई उदृत गर्दै स्रोतले बतायो ।

पार्टी फुट्न सक्ने संकेत गर्दै प्रधानमन्त्रीले अब बाइ फोर्स, बाइ स्टेप निर्णय लिनुपर्ने बताएका छन् । ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो 'पार्टी एक नरहन सक्छ । बाइ फोर्स, बाइ स्टेप निर्णय लिनुपर्ने हुनसक्छ । कता लाग्ने हो कित्ता क्लियर गर्नू भन्नुभयो ।'

प्रधानमन्त्रीपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए। पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।