काठमाडौं- काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किङ्सले टस जितेर पहिले बलिङ रोजेको छ।

लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ। बीचमा लय छोडे पनि अन्तिम खेलमा सम्हालिएको विराटनगर पनि अर्को बलियो दाबेदार हो।

राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रुपमा समेत हेरिएको छ। तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो।

गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।