काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिर्णय सकिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठकसमेत अनिश्चित बनेको छ । स्थायी कमिटीको बैठकका एजेन्डा तय गर्न बुधबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो । तर प्रधानमन्त्री ओली सचिवालय बैठक चलिरहेका बेला म थाकें भन्दै बाहीरिएपछि बैठक बिना निष्कर्ष टुङ्गिएकाे हाे । 

भोलि बस्ने स्थायी कमिटी बैठकका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव तयार गर्ने भनिएको थियो । तर प्रस्ताव तयार गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन। 

भोलि स्थायी समिति बैठक बस्ने/नबस्नेबारे दुई अध्यक्षले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओली र प्रचण्डबीच बैठक लगत्तै छलफल सुरु भएको छ ।