काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भेटवार्ता भएको हो ।

स्थायी समिति बैठकको निर्णयअनुसार प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नगरेपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ ।

भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए । तर प्रधानमन्त्री ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए। प्रचण्ड पक्ष पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आइरहेको छ । 

बिहीबार पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेट भएको थियो। मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए भने बुधबार फिर्ता गर्न तयार भएका थिए।

यसअघि शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरूको भेला भएको थियो।