काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

शुक्रबार झण्डै ६ घण्टा चलेको सचिवालय बैठकमा उपाध्यक्षहरूले धारणा राख्दै पार्टीभित्र नेतृत्व, जिम्मेवारी बाँडफाँट र संगठनात्मक पुनर्संरचनाबारे गम्भीर प्रश्न उठाएका थिए ।

बैठकमा केही उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई “मार्ग प्रशस्त गर्न” आग्रह गर्दै नेतृत्व हस्तान्तरणको बहससमेत अघि सारेका स्रोतले जनाएको छ ।

एमालेभित्र नेतृत्व पुस्तान्तरण र कार्यविभाजनलाई लिएर बढ्दो बहसका बीच आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उपमहासचिव लेखराज भट्टले शुक्रबार उठेका सुझावका आधारमा कार्यविभाजनका लागि प्रस्तावित नामहरू संशोधन हुन सक्ने बताएका छन् ।

अध्यक्ष ओलीले सोमबारको सचिवालय बैठकमा नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावमाथि नेताहरूले धारणा राखिरहेका छन् ।