काठमाडौं - नेपाल भारत सीमा विवाद आपसी छलफलबाट सुल्झाउने सरकारले बताएको छ ।

सरकारको प्रवक्ता,अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सीमा विवाद सकभर दुई पक्षीय वार्तामार्फत समाधान गर्ने बताए ।

‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं,’ मन्त्री खतिवडाले भने,‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’

पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मतभेद देखिएको छ। केही साताअघि भारतले कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले बुधबार उक्त क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ।