काठमाडौं - थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।

वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ । 

त्यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि मोर्चाले माग गरेको छ ।