मुकेश चौरसिया हत्या प्रकरणः मुख्य आरोपी पक्राउ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार चौरसिया हत्या प्रकरणका मुख्य आरोपी भनिएका सोही गाउँपालिका-३ का अशेसरप्रसाद चौरसियालाई आइतबार पक्राउ गरिएको हो । उनलाई प्रहरीले वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतकका आफन्तले पूर्व सभाषद् राजकुमार गुप्तासहित १२ जनाबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत किटानी जाहेरी जाहेरी दर्ता गरेका छन् ।
घटना के हो ?
गत कात्तिक ६ गते सो गाउँपालिका-५ प्रसौनीभाठामा भएको नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा पार्टीकै असन्तुष्ट पक्षले चौरसियामाथि सांघातिक हमला गरेका थिए । चौरसियाको टाउकोमा बाँसको भाटाहरु प्रहार भएको थियो । त्यसपछि चौरसिया घटनास्थलमै ढलेका थिए । घाइते चौरसियालाई तत्कालै उद्धार गरेर वीरगन्जस्थित एसएल न्यूरो अस्पतालमा लगिएको थियो । तर, उनको उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस