प्रधानमन्त्री कार्कीका सल्लाहकार गोविन्द नारायणले पनि लिए रास्वपा बन्दसूचीबाट नाम फिर्ता
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट बन्दसूचीको खसआर्य पुरुषको आठौँ नम्बरमा रहेका उनले प्राथमिकता क्रममा आफ्नो नाम निकै तल पारिएको भन्दै बन्दसूचीमा नबस्ने निर्णय लिएको जनाइएको छ ।
यसअघि आइतबार रास्वपाकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले पनि आफ्नो नाम तल पारिएको भन्दैसमानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिएकी थिइन् ।
रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ समानुपातिक बन्दसूचीको १०औँ स्थानमा राखेको थियो ।
उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि रास्वपाले बन्दसूची अद्यावधिक गरेको थियो । त्योसँगै समानुपातिकतर्फको केही नाम तलमाथि परेको थियो ।
विवादित पृष्ठभूमि, गैरराजनीतिक व्यक्तित्व र नेता विशेषसँगको निकटता भन्दै चौतर्फी आलोचना भएपछि रास्वपामा नाम फिर्ता लिनेको संख्या बढेको छ।
आयोगमा १४ पुसको राति बुझाएको ११० जनाको सूचीबाट अहिलेसम्म १४ जनाले नाम फिर्ता लिइ सकेका छन् ।
यसअघि रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस