'अडियो लिक’बारे पत्रकार सम्मेलनमै जानकारी दिन्छुँ : मन्त्री बाँस्कोटा
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदकाे विषयलाई लिएर सार्वजनिक अडियाेबारे पत्रकार सम्मलनमै जानकारी दिने बताएका छन् ।
कञ्चनपुर पुगेका उनले काठमाडौ फर्किएपछि यसबारे प्रष्ट्याउने बताएका हुन् । मन्त्री बाँस्कोटाले हरेक बिहीवार सरकारले गर्दै आएको साप्ताहिक पत्रकार सम्मेलनमा अडिओबारे बोल्ने जानकारी दिए ।
एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा कमिसनको ७० प्रतिशत आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा अहिले विवादमा तानिएका छन् ।
मुख्य विपक्षी दल कांग्रेसले यसबारे छानविन गर्न भनेको छ । बाँस्कोटाले अडिओ रेकर्डमा सुनिएको एउटा आवाज आफ्नो भएको कुरा सोझै नस्वीकारे पनि घुमाउरो स्वीकारोक्ति दिएका छन् ।
उनले केही सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन् । नभए के हुन्छ ? देखिहाल्नु भयो । तर, त्यो काम मैले गरें कि गरिनँ हेर्दा थाहा भइहाल्छ ।’ यो भाषामा उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको समेत सुनाएका छन् ।
बाहिर सार्वजनिक भएको अडियोमा दोहोरो कुराकानी सुनिएको छ । त्यसमा एउटा आवाज मन्त्री बाँस्कोटा र अर्को स्वीस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश शर्मा भनिएको छ । अडियाेमा मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको सुनिएकाे छ । त्यही अडियोलाई आधार मानेर अहिले डिजिटल सञ्चारमाध्यममा विभिन्न कोणबाट समाचार आइरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस