काठमाडौं -  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

समितिले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको विभिन्न प्रकारका नाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरु अन्तर्गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्क बमोजिम बोनस दर निर्धारण गरेको हो ।

यससँगै कम्पनीले विभिन्न बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम १३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस वितरण गर्ने भएको छ ।

कम्पनीको रिलायबल सावधिक जीवन बीमालेखमा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले २० वर्ष वा सो भन्दा माथिको लागि सावधिक जीवन बीमालेख गर्नेलाई प्रतिहजार ७० रुपैयाँ बोनस दिने भएको हो । जुन कम्पनीले जारी गरेको बीमालेख मध्येकै उच्च बोनस दर हो ।

त्यस्तै, रिलायबल लघु सावधिक जीवन बीमालेख, बीमा समिति लघु सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमा योजनामा सबै बीमा अवधिको लागि प्रतिहजार ३० रुपैयाँ बोनस वितरण गरिने छ ।

त्यस्तै, सबैभन्दा न्युनतम रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) मा प्रतिहजार १३ रुपैयाँ बोनस पाइने छ । जुन कम्पनीले सार्वजनिक गरेको बोनसदर मध्येकै न्युनतम बोनस दर हो ।

त्यसैगरी, रिलायबल सुलभ जीवन बीमालेख गर्ने बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँ र अधिकतम ३७.७ रुपैयाँ बोनस पाउने छन् । बाल बच्चाको सावधिक बीमालेख अर्थात रिलायबल उच्च शिक्षा योजनामा प्रतिहजार न्युतनम ६० रुपैयाँ र अधिकतम ६५ रुपैयाँ बोनस पाइने छ ।

साथै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम ५० र अधिकतम ५५ रुपैयाँ बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

उक्त ८ प्रकारका बीमालेखमा हालसम्म ३२ हजार ३८ संख्यामा बीमालेख जारी भएको छ । जसमध्ये १५ देखि १९ वर्ष बीमा अवधिको रिलायबल सुलभ जीवन बीमालेख गर्नेको संख्या सबैभन्दा बढी रहेको छ । हालसम्म उक्त बीमालेख १२ हजार २८४ संख्यामा बिक्री भएको कम्पनीले जनाएको छ ।