हर्मुज जलमार्गमा अमेरिका–इरान पुनः सैन्य भिडन्त, एकअर्कामाथि आक्रमणको आरोप
काठमाडौं-अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीनवटा गाइडेड–मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेको थियो। सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ।
सेन्टकमले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ। ‘हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,’ सेन्टकमले विज्ञप्तिमा भनेको छ। इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दाबी गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। साथै केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानको दाबी छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोट सुनिएको थियो। रिभोलुसनरी गाड्र्ससँग निकट फार्स न्युजले केश्म टापुको बहमन बन्दरगाह क्षेत्रमा ‘शत्रु फौज’सँग भिडन्त भएको जनाएको छ।
इरानका दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त अरब इमिरेट्समाथि पनि घटनामा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार केश्मस्थित जहाज निर्माण केन्द्र, बहमन बन्दरगाह र बन्दर अब्बासस्थित हवाई अड्डा क्षेत्र लक्षित हमला भएको थियो। यद्यपि यूएईले यसबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन।
इरानको राजधानी तेहरानमा पनि बिहीबार राति ठूलो विस्फोट सुनिएको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ। पश्चिमी तेहरान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको र स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस