आज असिनासहित देशभर वर्षा हुने,आइतबारदेखि मात्र मौसममा सुधार
काठमाडाैं - बिहीबारदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार मुलुकभर वर्षा हुने भएको छ । पश्चिमी जिल्लाहरूमा बिहीबार बेलुकाबाटै पानी परिसकेको छ । शुक्रबार तराई र पहाडमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानांगले पश्चिमबाट प्रवेश गरेको वायु काठमाडौं उपत्यकामा बिहीबार राति नै प्रवेश गरिसक्ने बताए । ‘देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित वर्षाको सम्भावना छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि नेपाल प्रवेश गरेको हो । यो प्रणालीले बिहीबार नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका कतिपय भेगमा वर्षासँगै हिमपात गराएको छ ।
शनिबार यो प्रणाली पूर्वी नेपालतर्फ सर्दै जाने अनुमान छ । सो दिन प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस