काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया तथा स्वास्थ्य लाभकोसमेत कामना गरेका छन् ।

सोमबार एक ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै मोदीले ट्विटमा लेखेका छन्, ‘‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै छन् । प्रधानमन्त्री ओलीको यो दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो । यसअघि ओलीको २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।