काठमाडौं - जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् ।

परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् । भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन ।

यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’ यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन भने केही विद्यार्थीहरुले मास्क लगाएका देखिएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

परीक्षामा स्मार्टफोनबाट उत्तर लेखिरहेको भाइरल भिडियोबारे  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले घटनाबारे परीक्षा बोर्डमा जनाकारी नआएको बताए ।

उनले कुन कलेजमा यस्तो भएको त्यसको जानकारी दिन समेत आग्रह गर्दै थाहा पाउने वित्तिकै कारवाही गर्ने उल्लेख गरे । परीक्षामा स्मार्ट फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुर अनुसार कारवाही हुने बताउँदै नियम विपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षा समेत रद्ध हुने उनले बताए ।