काठमाडौं - चीनबाट उद्धार गरी स्वदेश ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । उनीहरूलाई राखिएको सुरक्षित स्थान (क्वारेन्टाइन)मा खटिएका स्वास्थ्यकर्मीले आइतबार सबैको र्‍याल र खकारको नमुना संकलन गरेका छन् । बुधबार मात्रै त्यसको रिपोर्ट आउनेछ । सरकारले चीनको हुबेई प्रान्तको वुहानसहितका विभिन्न सहरमा रहेका एक सय ७५ नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो ।

विमानस्थलमा उनीहरू सबैको शरीरको तापक्रम मापन गरिएको थियो । त्यसमा सबै स्वस्थ देखिएका छन् । ज्वरो देखिए क्वारेन्टाइनको सट्टा अस्पताल लगेर निगरानीमा राख्ने सरकारको योजना थियो । विमानस्थलबाट उनीहरूलाई प्रहरी स्कर्टिङमा पाँचवटा गाडीमा राखेर क्वारेन्टाइन बनाइएको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार संकलित नमुना सोमबारदेखि परीक्षण गरिनेछ । ‘नेपाल फर्किएका एक सय ७५ जनाकै र्याल र खकार संकलन गरिएको छ । रिपोर्ट आउन कम्तीमा दुई दिन अर्थात् बुधबारसम्म पर्खिनुपर्छ,’ उनले भनिन् । स्वदेश ल्याइएका नेपालीको २४ घन्टाभित्र पहिलो र १४औँ दिनमा अन्तिम परीक्षण गर्ने सरकारको योजना छ ।

परीक्षणमा समय लाग्ने हुँदा क्वारेन्टाइनमा बस्नेको समयावधि पनि लम्बिने भएको छ । यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको थियो । तर, अब तीन दिन लम्बिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । ‘क्वारेन्टाइनमा बसेको १४औँ दिनमा कोरोना भाइरसको अन्तिम परीक्षण गरिन्छ, सबैको नमुना संकलन गरेर रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्छ । रिपोर्ट नआउँदासम्म घर पठाउन पनि मिल्दैन । 

नयाँ पत्रिकाबाट