काठमाडौं - इरानसँगको सैन्य तथा कूटनीतिक तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख रणनीतिक जलमार्गमध्ये एक हर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार न्युयोर्कमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई पराजित गरेपछि हर्मुज जलडमरूमध्यलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने दाबी गरेका हुन् ।

‘इरानलाई हराएपछि म हर्मुज जलडमरूमध्यलाई अमेरिकाको क्षेत्र घोषणा गर्नेछु,’ ट्रम्पले भने ।

यसअघि पनि ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएका थिए। उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘फलामको पर्खाल’ को संज्ञा दिएका छन्।

हर्मुज जलडमरूमध्य विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग हो। यस क्षेत्रमा जहाजको आवतजावत प्रभावित हुँदा विश्व ऊर्जा बजारमा आपूर्ति संकट र इन्धनको मूल्यवृद्धिको जोखिम बढ्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको छ।

ट्रम्पको अभिव्यक्तिप्रति इरानले भने कडा आपत्ति जनाएको छ। इरानी उपविदेशमन्त्री काजेम गरीबाबादीले हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कायम रहने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै उनले ‘स्ट्रेट अफ हर्मुज इरानको थियो, इरानको हो र इरानकै रहनेछ’ भनेका छन्।