काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका छन् ।

बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेका हुन् ।

'हिजो एकताका बेला आलोपालो सहमति भएकै थियो । त्यसबाट पछि हटेर अर्का अध्यक्षले पाँच वर्ष सरकार सञ्चालन गर्ने, मैले आमरूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो । तर, त्यसअनुसार पनि अघि बढ्न सकिएको छैन । एकताको बेलाको सहमतिबाट पछि हटेर गल्ती गरेँकी भन्ने महसुस भएको छ ।' प्रचण्डको भनाई उद्धृत गर्दै  बैठकपछि एक स्थायी कमिटी सदस्यले भने ।

अध्यक्ष प्रचण्डले सरकार र पार्टी यही तरिकाले अघि बढिरहने हो भने खतराको घण्टी बज्‍न धेरै समय नलाग्‍ने बताए । 'यसरी नै चलिरहने हो भने खतराको घडी बज्‍न सक्छ। त्यति लामो संघर्ष र आन्दोलन गरेका आएको हुनाले अब यसको समाधान पनि हामीले नै दिनुपर्छ। अब पछाडि फर्किएर केही हुँदैन', प्रचण्डले भने, 'अब अगाडि बढ्‍नुको विकल्प हामीसँग छैन, समाधान पनि अगाडि बढेर नै हल गर्न सक्छौं।'

प्रचण्डले वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए ।