काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले डाकेको आकस्मिक बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारीहरु सहभागी छन् ।

काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अुनसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफुले विश्वासको मत लिन नपाउने अवस्था भएपछि संविधानको धारा ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जान सिफारिस गरेका हुन् । यसलाई संविधानविद् र राजनीतिक दलहरुले संविधानमाथिको अर्को प्रहार भएको भन्दै विरोध गरिरहेका छन् ।