काठमाडौं - कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले अन्तराष्ट्रिय विमानस्थलको साथै चीनसंग सिमा जोडिएका भन्सार नाकाहरुमा अत्यधिक कडाई शुरु गरेको छ । त्यसको लागि सिमा नाकाहरुमै स्वास्थ्यकर्मीको टोली खटाएर परिक्षण गरेपछि मात्र छोड्ने गर्न थालिएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालेको छ । कोही रुघाखोकी लागेको मानिस आएको छ भने विमानस्थलबाट सिधै टेकुको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर परिक्षण पछि बल्ल्ल उसलाई छोडिने तर शंका लागेमा थप उपचार शुरु गरिने गरेको छ । हिजो आइतबार पनि चिनबाट आएका एक जना शंकास्पद व्यक्तिलाई उक्त अस्पतालमा लगेर ‘आइसोलेशन वार्ड’मा राखेर चेक जांच गरेपछि बल्ल छोडिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्रिभुवन विमान स्थलको साथै चिनसंग सिमा जोडिएका तातोपानी र रसुवागढी नाकाबाट नेपाल भित्रिने नेपाली तथा चिनिया नागरिकहरुको स्वास्थ्य परिक्षण शुरु गरिएको छ । शंकास्पद व्यक्तिलाई तुरुन्तै ‘आइसोलेशन वार्ड’मा राख्ने र उसमा कोरोना भाइरसको संक्रमण छैन भन्ने पुष्टि भएपछि बल्ल छोडिने गरेको छ । त्यस्तै सरकारले चिनिया पर्यटकहरु बढी जाने पर्यटकिय स्थलहरुमा समेत तुरुन्तै परिक्षण गर्न मिल्ने गरि ‘आइसोलेशन वार्ड’हरु बनाउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनतापाटीलाई दिए ।
स्मरण रहोस् नेपालमै परिक्षणको व्यवस्था नहुंदा कोरोनाभाइरसको परीक्षण हङ्कङ पठाएर गरिदैं आएकोमा अब नेपालमै हुने भएको छ । त्यसले गर्दा खर्च बढ्नुको साथै समय पनि निकै लाग्ने गरेको थियो । नेपालमै परिक्षण हुने भएपछि रोगको पहिचान गर्न सजिलो हुनुको साथै उपचार गर्न पनि सजिलो हुने भएको छ ।

.gif)


