काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का नेताहरु दल दर्ता गर्न आइतबार निर्वाचन आयोगमा पुगेका छन् । तीन अध्यक्षसहित पाँचजना पदाधिकारी रहने गरी पार्टी दर्ता गराउन लागिएको स्रोतले बताएको छ ।

नवगठित जसपाको अधक्षमा अब महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहनेछन् । साथै राजेन्द्र महतो र अशोक राई पदाधिकारी रहनेछन् । तीन अध्यक्षमध्ये संघीय परिषदको नेतृत्व डा. भट्टराईले गर्नेछन् भने केन्द्रीय समितिको नेतृत्व यादव र ठाकुरले गर्ने सहमति भएको छ ।

५३ सदस्यीय कार्यकारी समितिमा २७ जना नेता तत्कालिन राजपाबाट र २६ जना समाजवादीबाट छन् ।

गत बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जसपा बनेको थियो । भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केही प्रक्रिया नपुगेकोले दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।