काठमाडौं - नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । उनको वरीयता अध्यक्षपछि दोस्रो रहनेछ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले प्रस्ताव अनुमोदन गरेको हो ।
यसअघि एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरणसमेत रोकेको थियो । २०८३ जेठमा भने उनलाई पुनः पार्टी सदस्यता दिने निर्णय भएको थियो ।
यस्तै, एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । सचिवालयले पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । उनीहरूको नाम केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना तथा विभिन्न जिम्मेवारीसम्बन्धी निर्णयहरू टुंग्याउँदै आएको छ ।



