'सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाऔं'
काठमाडौं - सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सीमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि सुझाव दिएका छन् ।
विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सिमा अतिक्रमण हुँदै आएको र त्यसको दीर्घकालिन समाधान निकाल्न नसक्दा विभिन्न वहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद देवेन्द्र पौडेलले कालापानी र लिपुलेक प्रकरणले नेपालीको स्वभिमानी मुटुमाथि तिर रोपिएका समयमा सत्तापक्ष र प्रतिपक्षी भएर कविताको सौन्दर्यमा विचरण नगरी समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मुर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
धर्मशिला चापागाईले भारतबाट नेपालको सुदूरपश्चिममा भुभाग अतिक्रमण भएको प्रति खेद प्रकट गदै सुदूरपुर्वमा पनि केही समय पछि त्यही स्थिति आउने सम्भावना देखिएको भन्दै तत्काल स्थायी ढंगले सिमा विवाद गर्ने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराए । मेचीलाई सिमाना मान्न नसकिने कुरा आईरहेकाले सिमा विवादको दिर्घकालिन समस्या समाधान खोजिनुपर्ने तर्क उनले गरे ।
सांसद नन्द बहादुर रोका क्षेत्रीले भारतले पटक पटक नेपाललाई दुख दिने गरेको भन्दै सार्वभौम सत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिको सधैको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद नवराज सिलवालले सीमा अतिक्रमणबारे कविता सुनाउँदै मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आह्वान गरे ।
सांसद नारायण प्रसाद मरासिनीले सीमा अतिक्रमण विरुद्ध सरकारले चालेका कदमको प्रशंसा गर्दे सीमा क्षेत्र सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरे ।
सांसद निरुदेवी पालले कुटनीतिक पहल मार्फत सिमा क्षेत्रको अतिक्रमण रोक्नका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पदम गिरीले भारतले १९५० देखि नै सिमामा विभिन्न संरचना निर्माण गरी नेपाललाई दुख दिने गरेको भन्दै प्रभावकारी कूटनीतिक पहल गरि सिमा विवादको दीर्घकालिन अन्त्य खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद पार्वता डिसी चौधरीले सुगौलि सन्धिले लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रष्ट भएको भन्दै पछिल्लो समय भारतले लिपुलेकमा गरेको अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गरिन् । सांसद पार्वता कुमारी विशुन्केले कुटनीतिक तबरबाट सिमा विवादको दीगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद पुर्ण कुमारी सुवेदीले सुगौलि सन्धिबाट कायम भएको नेपाली भुमि कब्जा गरि भारतले बाटो निर्माण गर्नु स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण, हेपाहा प्रवृत्ति र नाङ्गो हस्तक्षेप प्रति घोर आपत्ती प्रकट गरिन् । उनले सीमा विवाद नेपाल सरकारको कूटनीतिक पहलबाट मात्रै समाधान हुने नदेखिएकाले चीनसँगको त्रिदेशिय समझदारी मार्फत भूमि संरक्षण गर्न र लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद थम माया थापाले सिमा समस्याको स्थायी समाधान गर्न प्रभावकारी काम अघि बढाउन सरकारलाई अनुरोध गरिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस