काठमाडौं - यस वर्ष विजया दशमीको साइत ४ कात्तिक ४ बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ । दसैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ । यस वर्ष २५ असोज आइतबारदेखि नवरात्रारम्भ हुँदै छ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उनले बताए ।

२६ असोजमा झण्डा फेर्ने साइत १०ः०७ बजे उत्तम रहेको समितिले जनाएको छ । झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए । २९ असोज बिहीबार पचलीभैरव यात्रा हुने भएको छ । ३१ असोजमा शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ ।

१ कात्तिक आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । २ कात्तिक सोमबार पनि अष्टमी तिथि नै परेको छ । ३ कात्तिक मंगलबार महानवमी पर्व परेको छ । ४ कात्तिक बुधबार विजयादशमी पर्व परेको छ ।

नेपालीको महान् पर्व बडादसैँको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ ।

यस दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ११ः५२ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । ८ कात्तिक आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ । ८ कात्तिक आइतबार कोजाग्रत व्रत र पूर्णिमा व्रत परेको छ । यस दिन बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ ।

९ कात्तिक सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ ।  बडादसैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ ।