काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् भने सोमबार राति १२ बजेदेखि प्रचारका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लाग्नेछ।

निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि सुरु भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ। यस अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला वा मत माग्ने गतिविधि गर्न पाइँदैन।

आयोगले स्पष्ट पारेअनुसार मतदान हुने दिनभन्दा ४८ घण्टाअघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ।

साथै सामाजिक सञ्जाल, सञ्चार माध्यम वा अन्य कुनै पनि विधि–प्रक्रियामार्फत मत माग्न तथा प्रचारप्रसार गर्न कडाइका साथ निषेध गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचरणविपरीत गतिविधि गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन्। उनका अनुसार नियम उल्लङ्घन गर्ने उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने प्रावधान छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मौन अवधिको कडाइपूर्वक पालना गर्न आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ।